‘द मेल्टिङ इमोसन’ : बुढीआमा पग्लिँदै छन्... - मुकेश मल्ल
‘द मेल्टिङ इमोसन’ : बुढीआमा पग्लिँदै छन्...
विदेश गएको छोरो फर्कने आशाले जर्जर बनेकी आमाको ‘द मेल्टिङ इमोसन’ नामक एउटा मार्मिक चित्र । यो चित्रमा स्पष्ट रूपमा बुढीआमाका आशा पग्लिँदै गरेको दृश्यावलोकन हुन्छ । फर्कन्छ भन्ने विश्वास पग्लँदापग्लँदै निमिट्यान्न हुन पुगेको अवस्था पनि देखिन्छ । सर्वथा सबै कुरा रित्तो भएजस्तो पनि यो चित्रमा छर्लङ्ग देखिन्छ ।
आमाको शरीरमा पानीको धारा बगेभाँती तरतर्ती झरिरहेको, बगिरहेको थुप्रै अवयव नाङ्गो आँखाले खुलस्तै भएर देखिन्छ । यही चित्र र यस्तायस्तै अन्य थुप्रै चित्र भर्खरै (१८ जुनदेखि ९ जुलाईसम्म) सिद्धार्थ कला दीर्घामा प्रदर्शित भयो । युवा कलाकार रीति महर्जनको यस एकल कला प्रदर्शनीको नाम थियो, पर्खाइ (अवेटिङ) । यसमा प्रदर्शित चित्रले देशान्तर र यसबाट पर्ने प्रभावलाई चोटिलो तवरले उठाएको थियो । यस्तै, यी चित्रले आममान्छे, समाज र राष्ट्रलाई धेरै प्रश्न सोधिरहेका छन् ।
बाह्य चक्षुले हेर्दा, छाम्दा यी चित्र सामान्य लाग्छन् तर बहस र छलफलले हल गर्न नभ्याएका राज्यको समस्याको जड यी चित्रभित्र समाहित भएको देखिन्छ ।
आजभोलि सौन्दर्यतालाई रसास्वादन गर्ने वस्तु मात्र रहेनन्, चित्र । भावाभिव्यक्ति गर्ने माध्यम मात्र पनि रहेनन् । आममान्छेको अनेक समस्याजन्य सवाल, प्रश्न बोकेर वकालत गर्न पनि कला बलियो माध्यम बनेको देखिन्छ । विशेषतः हिजोआजका युवा कलाकारले यस्तायस्तै अनेक सामाजिक सवाललाई आफ्ना कलामार्फत उठाइरहेका देखिन्छन् । यो कला प्रदर्शनी पनि यसैको एउटा कडी हो ।
ललितपुरको सहरी वातावरणमा जन्मेकी कलाकार रीति बिहेवारी भई लमजुङको विकट गाउँमा पुगेपछि गाउँघरको अनेक परिदृश्य देखिन्, भोगिन् अनि यहीँको अवस्था, संस्कृति र परम्परालाई उनले अहिले आफ्नो कलामार्फत भावाभिव्यक्ति दिएकी छन् । पुरुषविहीन गाउँ नै रित्तोजस्तो, एक्लाएक्लैजस्तो, अनि शून्य भएको सामाजिक अवस्था र देशान्तर बोकेको सिङ्गो गाउँ— उनका चित्रमा समष्टिमा भावकले अनुभव गर्ने कुरा यही नै हो । सोझो अर्थमा भन्नुपर्दा बिदेसिनु र परदेसिनुको पीडा र प्रभावलाई उनले आत्मसात गरेर कलालाई पस्केकी हुन् ।
भावसहितको यथार्थ रूप अनि आममान्छेले सजिलै बुझ्ने विम्ब उनको कलामा सङ्गठित भएका छन् । जसले गर्दा उनका कला आमभावकका लागि ग्राह्य बनेको देखिन्छ । नितान्त मूर्त छन् उनका चित्रहरू । ती चित्रले मौन रूपमा संवाद गर्दै गरेको परिदृश्य कलामा उत्रिएको देखिन्छ ।
उनका चित्रमा मूल पात्रका रूपमा महिला छन् । यसैको वरिपरि अन्य पात्र घुम्छन् अनि अनेक कथा, उपकथाको निर्माण हुन्छ । नाटक वा सिनेमा हेरेजस्तो एउटा महिलाको स्वाभाविक दर्द र आहत उनको चित्रबाट प्रवाहित भइरहेको देखिन्छ । यहाँ उनका महिला पात्रले अधिकारका कुरा गरेको, चर्को नारा–जुलुस गरेको देखिँदैन, तर यी चित्रले राष्ट्रकै अहं मुद्दालाई समाएको देखिन्छ । यो उनको सबल पक्ष मात्र होइन, कलागत विशेषताको रूपमा पनि आएको छ । उनका चित्रको सबैजसो पात्र चुप लागेर पनि बोलिरहेका हुन्छन् । अनि भावकले आत्मसातकै रूपमा उनका दुखेसालाई सुन्छन्, महसुस गर्छन् अनि यो सवाललाई कानेखुसीकै स्तरमा भए पनि ठाउँठाउँमा घुमाउँछन्, उठाउँछन् । यो उनको कलाको सफलताको पक्ष पनि हो ।
यसबाहेक उनका अन्य सहपात्रका रूपमा चौकस, झ्याल र मूल ढोका प्रत्यक्ष रूपमा देखिन्छन् । वस्तुतः यी वस्तु उनका निजी प्रतीकात्मक विम्ब हुन् । उनको कलामा एउटा ठोस विचार र अवधारणासहितको भावाभिव्यक्ति छँदै छ, स्थानीय लोककलाको परम्परालाई पनि समष्टिगत रूपमा उत्खनन गर्नु उनको यसपल्टको कलाको थप विशेषता रह्यो ।
उनका श्रीमान् रवीन्द्र खनिया पनि राम्रा कलाकार हुन् । दुवैले चाइनामै कलाको उच्च शिक्षा (एमएफए) लिएका हुन् । सहपाठीका रूपमा सँगसँगै अध्ययन गर्दागर्दै दुवै एक–अर्कामा नजिक भए र लगनगाँठोमा बाँधिए ।
रीतिलाई लमजुङको गाउँघरको अनौठो खालको भित्तेचित्र देखेपछि थप जान्न बुझ्न कुतूहल भयो । डट (एउटा बिन्दु)बाट सुरु भएर रेखाहरू बन्दै ‘सिमेट्रिकल जिओमेट्री फर्म’ बनाउँदै, बन्दै गरेको यो अनौठोको लोककलाको परम्पराले उनलाई ज्यादै लोभ्याएको थियो ।
टेडामेडा रेखाले ज्यामितीय आकारलाई थाम्दै अगाडि बढेको देखिन्छ यो कलामा । टेडामेडा रेखा अनि प्राकृतिक रङ लोककलाको विशेषतै हो । उहिले जमानामा ढुङ्गा र माटो, झारपात, फूलबाट बन्ने यस्ता रङ स्वाभावतः प्राकृतिक हुन्थ्यो, घनत्व बोकेको रङ हुन्थ्यो । अनि, यस्तायस्तै सीमित रङ मात्र बन्दथ्यो । अनि यही सीमित रङहरूबाट कलाहरू बन्ने गर्दथ्यो । कसैले कसैलाई विधिवत् नसिकाईकन जन्मदेखि नै स्वतः बन्ने यस्ता कला आ–आफ्नै युनिक विशेषताका साथ देखिने गथ्र्यो ।
नेपालमै अलग अगल खालका थुप्रै लोककला देखापरेका छन् । लमजुङ क्षेत्रको हकमा, यी कलामा प्रयोग हुने खैरो र कालो वास्तविक स्थानीय रङहरू हुन्, यसले यही क्षेत्रको इन्डिजिनस आर्टको सम्पूर्ण विशेषता बोकेको देखिन्छ । हुन त ‘डट’बाटै रेखाहरूको निर्माण हुने हो तर यस भेगको चित्र–अंकन पद्धतिमा डट बनाएर यसैलाई जोड्दै रेखाको निर्माण गरिन्छ । रीतिका लागि यो कलागत प्रक्रिया चासोको विषय बनेको हो । चाइनामा उच्च कलाको शिक्षा लिँदा पनि उनले यस्तो कलागत प्रक्रिया देखेकी थिइनन् ।
उनले लमजुङ, तनहुँतिर देखिने भित्तेचित्रका सम्बन्धमा अध्ययन गरिन् । यसैका आधारमा उनको यसपल्टको चित्र बनेको हुँदा चित्रपटको पृष्ठभूमि र विशेषतः अग्रभागमा अनेक प्रकारका बुट्टाले प्रवेश पाएका छन्, जुन बुट्टा यसै भेगका लोककला हुन् । घर–आँगनलाई सिँगार्ने परम्परालाई टपक्कै टिपेर यसैमा भावना समेत थपथाप गरेर बुनेका उनको यसपालिको कला अलग्ग पाराले स्थापित भएको देखिन्छ । अलिकति अवधारणा र अलिकति मौलिकता मिसिएर आउँदा यी चित्र नेपाली समसामयिक कलाको भीडमा अलिक फरक प्रकारले देखापरेका हुन् । आजको कलाले बोल्ने भाषा, समसामयिक कलाको वास्तविक पहिचान र कन्टेक्सचुअल कलाको यो अनुपम उपहार पनि हो ।
कला कन्टेक्सचुअल हुनु र बन्न सक्नु समसामयिक कलाको मूल विशेषता हो । सामाजिक, राजनीतिक सवाललाई बोकेर उठ्नु आजको कलाको विशेषता बनेको छ । आज हामी यस्ता प्रवृत्तिका कलालाई उत्तरआधुनिक कलाको नौलो धारको उपमा पनि दिने गर्दछौँ । यस्ता कलाले राजनीतिक र सामाजिक सवाललाई उजागर मात्रै गर्दैन, सत्तामा बस्नेका लागि एउटा हाँक पनि दिन्छ ।
यसपालि रीतिले सिंगो समाज थिलथिलो भएको अवस्थालाई जनाउन बुढीआमाको शरीर पग्लेर झरेको दृश्य ल्याएकी छन्, जसमा सिङ्गो राष्ट्र नै पग्लिरहेको शाश्वत यथार्थलाई देख्न सकिन्छ । राजनीतिक र सामाजिक क्षेत्रमा उठिसकेको बहसको विषयलाई मुद्दा बनाएर चित्रकला निर्माण हुनु पछिल्लो प्रचलन देखिन्छ । कला मात्र सौन्दर्यका लागि हो भन्ने परम्परावादी सोचदेखि आजको कला निकै अगाडि बढेको देखिन्छ ।
रीतिका चित्र
‘अ लिटल मोमेन्ट अफ जोय’, ‘माई फादर्स ह्याट’, ‘अ बड्स ड्रिम’, ‘द सिमेट्रिकल जर्नी’ आदि नामका चित्र यसपालि रीतिले प्रदर्शन गरिन् । सबैजसो चित्र प्रस्तुतिको केन्द्रबिन्दु महिला रहेको देखिन्छ । कला दीर्घाको माथिल्लो तलामा स्थानीय लोककलाको प्याट्रन, ज्यामितीय सेमिट्रिकल रूपलाई अझ परिमार्जित रूपमा बनाई प्रदर्शन गरिएको थियो ।
टेडामेडा रेखाको सट्टा नापतौल गरी त्यही प्याट्रनलाई कलाकारले बनाउन कोसिस गरेकी छन् । उज्याला, चम्किला र आधारभूत रङहरूको प्रयोग हुँदाचाहिँ यी कला कलाकारकोे निजी कला भन्ने देखिन्छ । स्रोतको रूपमा गाउँमा भएका भित्तेचित्रको छापाचित्रलाई पनि एक अलग्गै कलाकै रूपमा प्रदर्शन गरिएको थियो ।
एउटा डटबाट सुरु गरेर पूरै एकनासे बुट्टा बनाउने चित्र–अंकन पद्धति आउनु र यसलाई भित्तामा भित्तेचित्रको रूपमा राखिनुले उनका कला स्थानीय लोककलाको प्रतिलिपि कलाका रूपमा देखापरेका छन् । घरको भित्ता र विशेष गरेर घर–आँगनमा रहेको तुलसी–मठमा बनाइएका यी चित्रमा बुट्टा मात्र छैनन्, मानवीय रूप धार्मिक गाथामा उनेर प्रस्तुत गरिएको पनि देखिन्छ । घरका भित्तामा मात्र होइन, तुलसी–मठमा समेत यस्तै कलाले सिँगार्ने प्रचलन अझ अनौठो र निजी परम्पराको रूपमा देखिन्छ । टेडामेडा रेखा र खैरो कालो रङले डोमिनेन्ट गरेका चित्र तराई र पहाड भेगमा देखिएका अनेकौँ लोककलाको प्रतिविम्बको रूपमा देखिन्छ ।
नेपालको तराई भू–भागमा पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मैका गाउँघरमा यस्ता लोककलालाई घरका भित्तामा लेखिने परम्परा छ । पूर्व झापामा राजवंशी, मोरङका थारु, जनकपुर–सिराहा क्षेत्रमा मैथिली, पर्सातिर अवधि र भोजपुरी, दाङ तथा नेपालगन्जतिर थारुहरूले यस्ता लोककला यथेष्ट मात्रामा बनाएको देख्न सकिन्छ । हरेकजसो ठाउँमा हरेक चाडपर्वमा पुराना कला मेट्दै नयाँ बनाउने परम्परा छ । यसले गर्दा मूलतः यसको शुभारम्भ भएको समयकाल र मौलिक स्वरूपको पहिचान गर्न कठिन छ । लमजुङको यो भेगका कलाको इतिहास पनि योभन्दा फरक देखिँदैन । यस्ता नैसर्गिक रङ कहाँबाट उपलब्ध गर्दथे, चित्रांकनको परम्परा कति पुरानो हो ? आदिबारे अनुसन्धान हुन बाँकी छ । तथापि रीतिले नेपालभित्रै रहेको लोककलालाई सबैको अगाडि ल्याइदिएकी छन् । केही चित्रलाई हेरौँ ।
‘अ लिटल मोमेन्ट अफ जोय’ : चिन्ताग्रस्त सोचमा डुबेकी महिला अनि पृष्ठभूमिमा देखापरेको झ्याल र झ्यालबाहिर टाढा भएका मुखाकृतिले सम्भवतः छोरा वा पतिको स्पष्ट छवि आदिको मार्मिक संरचना यस चित्रमा ल्याउन खोजेको देखिन्छ ।
मूल ढोकाको माथिल्लोपट्टि श्रीमानको तस्बिर छ, सँगै दम्पतिकै चित्र टाँगेर गरिएको संयोजन पनि घतलाग्दो छ । मुखै नदेखाएर चिन्ताग्रस्तको आभास दिन सक्ने यो चित्रको खास विशेषता देखिन्छ ।
‘माई फादर्स ह्याट’ : सानो छोरो बोकेर अँध्यारो कालो ढोकातिर एकटकले हेरिरहेकी आमा वा श्रीमती अनि घरको भित्ताभरि स्थानीय लोककलाको आकर्षक बुट्टा आदिको संरचना यस चित्रमा देखिन्छ ।
यस चित्रमा पछाडि भित्ताभरि स्थानीय लोककलाको बुट्टाले भरिएको झ्याल, बाहिरपट्टि श्रीमान्–श्रीमती र सानो बच्चासहितको फोटो र अग्रभागमा छोरी मात्र समातेर बसेकी एक श्रीमती आदि पनि आकर्षक देखिन्छ ।
‘अ बड्स ड्रिम’ : हरेक दृष्टिकोणले पर्खी बसेको भाव स्पष्ट देखिन्छ यस चित्रमा ।
सिमेट्रिकल जर्नी : मदमस्त निदाएको जस्तो र घोर चिन्तामा ग्रस्त श्रीमान्श्रीमती अनि चित्रपटको बीचोबीच भागमा एउटा फोटो, जसमा श्रीमान् र श्रीमतीसहित रमाइलो मानिरहेको बच्चालाई देखाइएको छ यो चित्रमा ।
‘द मेल्टिङ इमोसन’ : मध्यभागमा ठूलो चौकस राखिएको छ, जसमाथि उदास अनुहारका साथ हातको पाखुरामा अडेस लागेर ढल्केर बसेकी बुढीआमाको एउटा इमेजलाई चित्रित गरिएको छ । निराश भएर हतासका साथ अविरल बगेको धारा देखाइएको छ । पछाडिपट्टि एकनासे बुट्टा बिच्छाएको भाँती देखिन्छन् । यसले पर्खाइ कहिलेसम्म ? भन्ने प्रश्न सम्पे्रषण गरिरहेको आभास हुन्छ ।
अर्को चित्रमा बाकस गुडाउँदै ल्याएको परिदृश्य छ । छोरो हँसिलो मुद्रामा थुप्रै पैसा कमाउन विदेश गएको फर्कंदा बन्द बाकसमा गुजुल्टिएर फर्केको परिदृश्य आदि–इत्यादिले लमजुङको विकट गाउँको कथा मात्र होइन, आज राष्ट्रकै पनि अहं सवाल बनेर बसेको छ । यस्तायस्तै अन्य थुप्रै चित्र पनि छन्, सबैको विस्तारमा यहाँ व्याख्या–विश्लेषण गर्न सम्भव पनि भएन ।
अलि गहिरो गरी खोजी पस्ने हो भने थुप्रै कोणबाट रीतिले आफ्ना चित्रमा अनेक प्रयोग गर्न कोसिस गरेको देखिन्छ । उनका चित्रको भावमा जाँदा मैले हक र अधिकार पाइनँ भन्ने गुनासोको सन्दर्भ बोकेर आएको देखिँदैन । यी चित्रको केन्द्रबिन्दुमा ‘परदेश’ छ । यसर्थ यस्तो अवस्थाको चपेटामा आफू पर्दा एउटा आमाले आफ्नो बच्चालाई कसरी पर्खी बस्दिरहेछन् भन्ने सरल र सहजजस्तो लाग्ने चित्र देखिन्छ ।
कलाकारको मनभित्र जन्मेको अनौठो संयोजन, पात्रको चयन र यसको साङ्ठनिक रूपले बनेका चित्र आफैँमा अलौकिक लाग्छन् । कलाकारले कस्ता–कस्ता मोटिफलाई पात्रको रूपमा चयन गर्छन् र प्रस्तुतिको ढाँचालाई आमभावकछेउ कसरी बिच्छ्याउँछन् भन्ने ज्वलन्त उदाहरण बनेका छन् रीतिका यी चित्र ।
यो उनको तेस्रो एकल कला प्रदर्शनी हो । यसपालि कलाकारको परिकल्पना, भावावेग र अनन्त गहिराइलाई भावकले अनुभव गर्न सक्छन् । किनकि सबैजसो उनका यी चित्रले एउटै कथा बोकेको छ । अनि हरेक चित्रले आ–आफ्नै कोणबाट थप कथा–उपकथा भनिरहेको देखिन्छन् । यसैलाई थप आकर्षक बनाउन, मौलिकता प्रदान गर्न र थप आधारभूमि प्रयोग गर्न इन्डिजिनस आर्टलाई अगाडि सारेकी छन् । उनले आफ्ना चित्रमा सदियौँदेखि पल्लवित भइरहेको लोककलाका बुट्टा, भित्तेचित्रको अनुपम संस्कार आदिलाई पनि पात्रका रूपमा समायोजन गर्दा यसले लोककलामै थप खोजी हुनुपर्ने देखाएको छ । यही नै उनको कलाको मूल विशेषता पनि देखिन्छ ।
मन गुरुङका चित्र
१८ जुनदेखि सिद्धार्थ कला दीर्घाको एनेक्स प्रदर्शन कक्षमा अर्का युवा कलाकार मन गुरुङको ‘लस्ट इन् ट्रान्जिसन सेकेन्ड’ नामक एकल कला प्रदर्शनी चल्यो । ४०औँ वसन्त पार गरिसकेका कलाकार जब आफ्नो बाबुबाजेका पुरानो गाउँ पुगे, गाउँभरि महिला र बच्चा मात्र देखेपछि उनको मनमा त्यसैत्यसै शून्यता छाएजस्तो भयो ।
गोर्खा जिल्लाको उत्तरी भेग, हिमाली क्षेत्रको त्यो खोर्ला गाउँ जहाँ उनी जन्मन पुगेका थिए । त्यहाँ संस्कृति हराएजस्तो, मौलिकता, पहिचान कसैले खोसेजस्तो र गाउँ आफैँमा असन्तुलन भएजस्तो महसुस उनलाई भएछ । सहरी जीवनमा हुर्के–बढेका यी कलाकारले आफ्नै पुर्खाको गाउँ, वातावरण र बसाइ, जीवनयापनका तौरतरिकालाई राम्रैसँग मनमस्तिष्कमा अभिलेखन गरे र दृश्यमा उतार्न थाले ।
कला बनाउनुअगाडि उनले पुराना फोटोलाई सङ्कलन गरेका थिए । यिनै स्रोत, जानकारी र अनुभवलाई उनले आफ्ना चित्रमा उतारेका हुन् ।
कला निर्माण गर्नुअघि गरिनुपर्ने आवश्यक खोजलाई समेत अचेल कला सिर्जनाको प्रक्रियामा जोड्ने प्रचलन छ । गुणात्मक कलाका लागि उनी खोजमा खरो रूपमा उत्रिएको पनि देखिन्छ ।
नयाँ भइरहेको परिवर्तन गाउँलेका लागि निल्नु न ओकल्नु भएको सन्दर्भ पनि उनका कलामा समाहित भएका छन् । व्यक्ति चित्रलाई जस्ताकै तस्तै रूपमा एक अर्थ र अवधारणासहित उनले आफ्ना क्यानभासमा उतारेका छन् । विशेष गरेर उनको रङ छनोट, अंकन पद्धति र उत्कृष्ट शिल्पका कारण सिर्जना आकर्षण देखिएका छन् । झन्डै सय वर्ष अगाडिको फोटोग्राफीको प्रत्याभूति गराउने उनका चित्र मोनोक्रोम्याटिक स्वरूपमा देखिन्छन् ।
चित्रपटको अधिकांश नेगेटिभ स्पेसलाई प्राथमिकता उभ्याएका छन् उनले । हावामा स्थापितजस्ता देखिए पनि हरेकजसो मान्छेका रूप उनको कलामा आफ्नो एक अलग्ग पहिचान लिएर आएको देखिन्छ । यही उनको सबल पक्ष पनि हो ।
आफ्नै संस्कार र मौलिक पहिरनलाई विशेष रूपमा उठान गर्ने उनको जमर्को रहेको छ । देशको अवस्था र विश्व आर्थिक बजारका कारण गाउँघरका प्रायः पुरुष सहर हुँदै अन्ततः बिदेसिन बाध्य हुन्छन् । यसलाई रोक्ने आग्रहका साथ पनि उनको कला देखापरेको छ ।
गाउँघरको इन्डिजिनस संस्कार संस्कृति ह्रास हुँदै पश्चिमी विकासको अनुकरणको भागदौडमा बढी लागेको दुखेसो पनि उनको कलाको विषय बनेको छ । उहिलेदेखि पुरुषहरु काम गर्न (आर्थिक जोहो गर्न) भारत र बाह्य राष्ट्रमै जाने गरेका छन् । आदिबारे थाहा पाएपछि उनलाई च्वास्स घोचेँजस्तो भयो र यस प्रकारका कला जन्मन पुगे ।
उनका पात्र र अंकन पद्धति पनि थारै अलग्ग रूपमा देखापरेको छ । एस्थेटिक्स जजमेन्टको हरेक दृष्टिकोणबाट उनका चित्र अब्बल छन् ।
सुपररियालिस्टिक शैलीमा देखापरेका उनका चित्रमा स–साना अवयवलाई मसिनो गरी उठान गरिएको छ । एउटै पातलो खैरो रङले डोमिनेन्ट गरेका चित्र हेर्दा ब्ल्याक एन्ड ह्वाइट फोटोग्राफजस्ता देखिन्छन् । तथापि यही नै उनको असली पहिचान पनि बनेको देखिन्छ ।
(मल्ल कलाकार र कला समीक्षक हुन् ।)
स्रोत ः रातोपाटी शनिबार, ०६ साउन २०८०, १८ : ४८
0 Reviews:
Thank You For Comments !