कला महोत्सव प्रदर्शनी २०७६ः एक समीक्षा


कला महोत्सव प्रदर्शनी २०७६ः  एक समीक्षा  
     







प्रदेश नं.१ मा कला  र कलाकारको समुन्नति, संरक्षण र सम्वर्धनका लागि प्रतिवध्द ललित कला सङ्गमले हरेक वर्ष श्रीपञ्चमीको दिन सामुहिक कला प्रदर्शनी गर्दै आईरहेको हो । यसैक्रममा गत दुई वर्षमा “ विराट आर्ट फेयर २०७५ ” र “ कला महोत्सव २०७६ ” शिर्षकमा प्रदेश नं.१ स्तरीय कला प्रदर्शनी र कला कार्यशाला  सम्पन्न भएका हुन् । यस लेखमा कला महोत्सव २०७६ मा भएको कला प्रदर्शनी बारे चर्चा गरिएको छ । जुन बृहत कलाप्रदर्शनी नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानचित्रकला विभाग, काठमाडौं र ललित कला संङ्गम, विराटनगरको संयुक्त आयोजनामा सम्पन्न भएको हो । तीनदिने उक्त प्रदर्शनीमा प्रदेश नं १ का.५० भन्दा बढी कलाकारहरुका ६० कलाकृतिहरु समावेश रहेका थिए । प्रदर्शनीमा यथार्थवादी, दृश्यचित्र, संरचना, व्यक्तिचित्र संस्कृति झल्काउने  चित्रहरु, अर्धअमुर्त र अमुर्त  चित्रहरु प्रदर्शित भएका हुन्। प्रदेश नं १ को धरानका चित्रकारहरु दृश्यचित्रहरुको प्रस्तुतिमा निकै प्रखर एवं कुशल ­­देखिन्छन् । यसै क्रममा चर्चा गर्दा धरानका जीवन पौडेल जो मूर्तिकलामा पनि ज्यादै सिध्दहस्त छन् उनको  सरल र खुशी जीवन (simple and happy life) शिर्षकको चित्रमा शहर र सडकमा व्यक्तिहरुको व्यस्तता र उत्साहपू्र्ण गतिशीलता चित्रण गरिएको देखिन्छ । पानीरंगमा बनाईएको यो चित्रमा रंगको पारदर्शिता र ( colour transparency and brilliancy ) प्रष्ट देखिन्छ । टाढाका विशाल भवनहरुलाई निष्तेज र फिका रंगव्दारा चित्रित गर्नाले वातावरणीय प्रभाव र दुरान्तर (aerial perspective ) को प्रभाव प्रष्ट दृष्टिगोचर हुन्छ । यसरी प्रदर्शित चित्रमध्ये यो चित्र एउटा राम्रो चित्रको रुपमा देखा पर्दछ। धरानका दृश्य चित्रकारका रुपमा अग्र स्थानमा रहेका लेख मगरको दृश्य चित्र धेरै नै आकर्षक देखिन्छ । दृश्यमा पुल तल बगेको नदी, ढुंगाहरु, रुखहरु र पहाडहरु यी सवै चित्रमा कुशलताका साथ चित्रित छन्। चित्रमा पहेलो र हरियो रंगको प्रधानता छ र रंग उज्यालो भैकन पनि सन्तुलित छन् । ब्रशको तीव्र प्रयोग लेख मगरको विशेषता नै हो । चित्रकार महेन्द्र  राईको नाउँ पनि धरानका  कलाकारको अग्रस्थानमा पर्दछ । उनी दृश्य चित्र, व्यक्ति चित्रदेखि लिएर अमूर्त शैलीसम्मका चित्र रचना गर्दछन्।  हाल मू्र्तिकारका रुपमा पनि देखिएका छन्। महेन्द्र  राईको पानीरंङ्गमा बनाईएको दृश्यचित्रमा अग्रभागमा रहेको पहाडले पृष्ठभूमिमा रहेको शहर (धरान ) को दृश्य प्रस्तुत गर्दछ । टाढा क्षितिजसम्म फैलिएर गुजुमुज्ज परे जस्तो घर भवनहरुको राम्रो प्रस्तुति देखिन्छ ।पछाडीको जङ्गलको आभास र टाढा क्षितिजमा फिका सेतो धर्सोले कोशीलाई देखाउन खोजेको  बुझिन्छ । अग्रभागका पहाडहरुले दृश्यको मुख्य भागलाई दृष्टिकेन्द्र ( optical centre ) मा समेटेर चित्रको महत्व धेरै नै बढाएको छ । चित्रको संरचना ( composition ) पक्ष पनि सशक्त देखिन्छ । धरानका प्रनोद दत्तको पानीरंगको चित्रले गंभीर रहस्यात्मक वातावरण दर्शाउँछ । चित्रको मध्यभागमा रोकिएको टेम्पो केही मानिसहरु र छेउमा दायाँपट्टि अलिकता देखिने मन्दिरको छानामुनि व्यक्तिहरु मन्दिर भित्र बाहिर गर्दैगरेको चित्रण गरिएका छन्। मुख्य गरेर खैरोें   रंगको प्रधानता रहेको उक्त चित्रले प्रभाववादी झल्को प्रस्तुत गर्दछ।  चित्रमा रङ्गको पारदर्शिता ( transparency ) सफलतापुर्वक निर्वाह भएको देखिन्छ। चित्रमा प्रनोदको तीव्र एवम् कुशल तुलिकाघातको प्रयोग भएको देखिन्छ। प्रनोद धरानका उत्कृष्ठ कलाकार हुन।  विराटनगरका जे.पि. चौधरी पनि कुशल दृश्य  चित्रकार हुन् । उनी पारदर्शी  पानीरंगचित्र, संरचना,तथा अमूर्त  चित्र पनि रचना गर्दछन् । दृश्य चित्रमा उनी चहकिलो रंगको प्रयोग  गर्दछन् । एक्रेलिक रंगव्दारा केनभासमा बनाईएको चित्रमा उनले दुईतिर जंगल बिचमा नदी र माथि आकाशको केही  भाग देखाएका छन्। पानीमा रुखहरुको बिम्ब  आकर्षक  देखिन्छ रेखांकन र रंग सम्वन्धी  शिल्पगत कुशलता (technical skill) चित्रमा स्पष्ट  देखिन्छ ।चित्रमा हरियो, पंहेलो,ब्राउन र सेतो रंगको सन्तुलित प्रयोग गरिएको पाईन्छ । युवराज  रिजाल , झापा, बिर्तामोडका सशक्त  चित्रकार  हुन्। उनका दृश्यचित्रले दृश्य मात्र प्रस्तुत गर्दैनन् बरु त्यसमा ग्रामीण  जनजीवन समेत दर्शाउंछन् । उनका दृश्यचित्र जीवन्त ( lifelike ) देखिन्छन् । कलाको प्राविधिक  भाषामा भन्नु पर्दा उनका चित्र  “ super realism ’’  मा  पर्दछन्।  प्रदर्शनीमा  रहेको एक्रेलिक रंगमा बनाइएको  “ हार्भेस्टिंग “ शिर्षकको उनको  चित्रमा यस्तै  विशेषता देखिन्छ । चित्रको अग्रभूमि (fore ground) र मध्य भूमिमा पहेंलो धान काटेको  खेत र परालको टाल त्यहाँ  काम गर्दै मान्छेहरु, पृष्ठभूमिमा  घरहरु र हरिया रुखहरु र जंगल देखिन्छ। दुरान्तर (perspective) को निर्वाह पनि कुशलतापुर्वक गरीएको छ। यो चित्रले प्रदर्शनीमा दर्शकहरुलाई धेरै नै आकर्षित गरेको हो।  गौरादहका चित्रकार बिष्णुकुमार थापाको पानीरंगको दृश्यचित्रमा आधि पानी आउनु अघिको अवस्थाको सफल चित्रण भएको देखिन्छ अर्थात यो चित्रमा कलाकारको परीवेशमा सही पकड भएको (mood of the scene captured) पाईन्छ। पानीरंगको चित्रमा वातावरण (environment)  को सही प्रस्तुति सवैभन्दा महत्वपुर्ण कुराहो,जसमा कलाकार सफल देखिन्छन्।   चित्रमा सन्तुलित निष्तेज रंग ( subdued colour )  को प्रयोग भएको पाईन्छ।    प्रदर्शनीमा   बिक्री हुने चित्र मध्ये यो पनि एक हो । धरानका बिसन परियारको पानीरंगको चित्रमा विषयवस्तुको रुपमा अग्रभुमिबाट पर रहेको घरहरु र रुखहरुको  प्रस्तुतिमा आकर्षक र रेखांकनमा कुशलतापुर्वक चित्रण भएको देखिन्छ । रङ्गमा पारदर्शिता र तेज ताजापन (color transparency and freshness) पाईन्छ।  पथरीमोरंगका भिम पुरीको दृश्य चित्र पनि आकर्षक देखिन्छ जसमा रंगको नियन्त्रित प्रयोग भएको  पाईन्छ । प्रदर्शनीमा भरत तामाङ्ग, गणेश लामा, तुलसी श्रेष्ठ,ध्रुवनारायण डंगोल, निवास पोखरेलकोे हिमाल विषय वस्तु भएको चित्र प्रदर्शित भएका हुन्। पथरीका भरत तामांगको हिमाल पृष्ठभूमि भएको दृश्य प्रस्तुतिमा सशक्त र आकर्षक देखिन्छ। चित्रमा निलो बाहेक रातो, पहेंलो, हरियो उज्यालो रंगको प्रयोग गरिएको छ तैपनि सन्तुलित देखिन्छ। रंग संयोजनमा अत्यधिक गाढा फिका (contrast)  रंगको प्रयोग भएको पाईन्छ। विषय वस्तुमा विविधता छ। बादलले पृष्ठभूमिमा रहेका हिमाल र मध्यभागमा रहेका पहाड, घर मन्दिरलाई छुट्याउँछ भने तल रहेको नदीको दुईतिरको अग्रभागमा रहेको भूभागमा  रुख, घरहरु र मन्दिरको चित्रहरु छन्।  चित्रको संरचनात्मक पक्ष सवल भएको पाइन्छ। गणेश लामा पनि राम्रा दश्यचित्रहरु बनाउँछन्। प्रदर्शनीमा गणेश लामाको पानीरंगमा निर्मित दृश्यचित्रको मध्यभागमा घरहरु,पृष्ठभूमिमा रहेका पहाडहरुलाई बादलले हिमालबाट छुट्याएको चित्रण गरिएको देखिन्छ, अग्रभागमा पहेंला खेतहरु मात्र रहेकाछन्। पहेंलो र ब्राउन रंगको प्रयोगले उष्णताको आभास गराउँछ ।चित्रमा रंग सयोजन नियन्त्रित छ र विषयवस्तुको चित्रणमा शिल्पगत कुशलता चित्रमा स्पष्ट देखिन्छ। काकडभित्ताकी तुलसी श्रेष्ठको “Everest on Dawn ’’ शिर्षकको एक्रेलिक रंगमा निर्मित हिमाली दृश्यचित्रमा पछाडिपट्टिको हिमालमा प्रातः कालिन सूर्यको प्रकाशले चित्रमा न्यानोपनका साथै उज्यालो सम्प्रेषण गर्दछ। अग्रभागको गाढा निलो पहाडलाई आकाशको शिर्षभागको गाढा निलो रंगले चित्रमा भार सन्तुलन कायम गरेको छ। पृष्ठभूमिको हिमालको पहेंलो रंगको चहकिलो प्रभाव ( chromatic effect ) लाई आकाशको तल्लो भागको फिका रंगले निष्तेज गर्दै सन्तुलित गरेको देखिन्छ।  चित्रमा प्रातः प्रभावको राम्रो चित्रण भएको पाईन्छ। ध्रुव डंगोल र निवास पोखरेलको हिमाल चित्रमा रंगको सन्तुलित र आकर्षक प्रयोग भएको पाईन्छ। अमूर्त तर्फ बिराटनगरकी प्राज्ञ गंगा सुवेदीको  flow of light ’’ सशक्त  प्रस्तुतिको रुपमा देखिन्छ  ।एक्रेलिक रंगमा निर्मित यो चित्रमा निलो, पहेंलो , सेतो  र केही रातो रंगको प्रयोग भएको छ। मानवभित्रको अज्ञानतारुपी  अन्धकारलाई ज्ञानको प्रकाशले हटाउन सकिन्छ  भन्ने  सन्देश  चित्रले सम्प्रेषण  गर्न  खोजेको बुझिन्छ  । चित्रको पृष्ठभूमिमा  रहेको अन्धकारको प्रतिक गाढा  निलो रंगलाई  ज्ञानको प्रतीक उज्यालो रंगले विस्थापित  गर्दै गएको  देखिन्छ  । रातो धर्साहरुले ज्योतिको संकेत बुझाउंछ ।दायाँ पट्टीको  फिका रंगले चित्रमा भार सन्तुलन (distribution of weight) गर्न खोजिएको छ । विराटनगर कै गौरव उपाध्यायको “revolution’’  शिर्षकको अमूर्त  चित्रमा एकछेउमा  भत्केको  मन्दिर  बिचमा आध्यात्मिक चिन्तनमा ध्यान मग्न मान्छे, स्थितिमा  सुधार ल्याउने  परिवर्तनशील सोच नै क्रान्तिको द्योतक  हो भन्ने शन्देश चित्रले दिन खोजेको बुझिन्छ । चित्रमा क्रान्तिको  संकेत  रातो र पहेंलो  रंगले गर्दछ भने छेउको हरियो र आकासे रंगले आशा र शान्तिको सन्देश छर्दछ। विराटनगर कै कृति श्रेष्ठको अमुर्त  चित्र पनि प्रदर्शनीको आकर्षण बन्न पुग्यो  । सूर्य, चन्द्र र पृथ्वीको संकेतको रुपमा तनिवटा पिण्ड रहेका छन् भने दुईवटा खडा हाँगाका टुप्पामा पातहरु चित्रित गरेर नारी र पुरुषको एकाकार अवस्थाको संकेत दर्शाईएको छ। चित्रमा अन्य बेलबुट्टा आकारले पनि प्रकृतिको रचना प्रस्तुत गर्दछ। समग्रमा चित्रले सृष्टीको एकात्मकता र त्यसलाई पूर्णता दिन पृथ्वी,सूर्य र चन्द्रको उत्तिकै आवश्यकता हुन्छ भन्ने सन्देश दिन खोजेको बुझिन्छ। पहेंलो, रातो, हरियो रंगको प्रयोग गरेर बनाईएको उक्त चित्रमा रेखांकन र प्रस्तुति सबल रहेको पाईन्छ । पप शैलीका जोकर  चित्रहरुबाट प्रेरीत भै “The Pain ’’  शिर्षकमा आधुनिक पप शैलीमा पानीरंगको माध्यममा बनाईएको धरानका सुकराज राईको  पोर्ट्रेट  चित्र नौलो प्रस्तुतिको रुपमा देखाप¥यो। मनको भित्रि पिडा लुकाएर जग हँसाउने भाव प्रकट गर्ने  यो चित्रले  दर्शकलाई  आकर्षित गर्न पुग्यो ।नारीलाई चित्रको विषयवस्तुको रुपमा अनुराधा थापाको एक्रेलिक रंगमा निर्मित आधुनिक शैलीको  एकान्त  (lonely) शिर्षकको चित्रले नारीको एकान्त अवस्थाको उदासीनताको चित्रण गर्न सफल भएको देखिन्छ। मुखमा रहेको औंला र चौडा खुलाआँखाको भावले अप्रत्यासित नीरवताको सन्देश प्रेषित गर्दछ। चित्रमा प्रयुक्त पहेंलो र ब्राउनले चित्रमा उत्पन्न उष्णतालाई क्रीमसन रातोको शितलताले सन्तुलन गर्न खोजेको देखिन्छ। पूर्वकी सर्वाधिक प्रतिभा सम्पन्न मध्येकी एक कलाकार प्राज्ञ सरोजा खडगीका चित्रहरुमा नारीका आन्तरीक वेदनाहरु उजागर भएका पाइन्छन्। ग्रामीण महिलाहरुको सुख दुखलाई सफलतापूर्वक चित्रण गर्ने चित्रकारको यो प्रदर्शनीमा प्रदर्शित  एक्रेलिक रंगमा निर्मित शान्तिको सन्देश दिने बुध्दको चित्रलाई पनि नारीमा पाईने कोमलताको सादृश्य हुनेगरी चित्रण गरीएको पाईन्छ। हातमा शान्ति र श्रृजनात्मकताको प्रतिक कमलको फूल लिएको अनुहारमा भने गंभीरताको भाव झल्किन्छ। बुध्दत्वको संकेत गर्र्ने पिपलका पातहरुलाई चित्रको संरचनामा भार सन्तुलन मिलाएर चित्रण गरिएको पाईन्छ। यहाँ बुध्दलाई अन्यत्र पाइने भन्दा बेग्लै आफ्नै  किसिमको संरचनामा प्रस्तुत गरिएको छ   चित्रको रंगमा माधुर्यता पाईन्छ। उषा अर्यालको नारी शिर्षकको चित्रमा मीरा र कृष्णकोे प्रेम भाव प्रदर्शित गरिएको देखिन्छ। चित्रमा पहेंलो रंगले समर्पणको भाव प्रस्तुत गर्दछ। क्यानभासको मध्यभागमा विषयवस्तुको चित्रणगरी दायाँ र वायाँतर्फको ठुलोभाग खालि रहनाले चित्र तीन भागमा विभाजित भएको छ, तापनि रंग संयोजनमा माधुर्यता पाईन्छ। विराटनगरकी निर्मला कुमारी चौधरीले सुन्दरता ( beauty ) शिर्षकको चित्रमा नारी सौन्दर्यको चित्रण गरेकी छन् । केश विन्यास, रंगको विविधता साथ नारीको प्रकृतिसंगको सामिप्यता दर्शाउन खोजेको देखिन्छ। रेखांकनको सवल प्रस्तुति चित्रको विशेषता रहेको छ। प्रदर्शनीमा मिथिला  लोक कलाव्दारा राष्ट्रिय  र अन्तराष्ट्रिय  क्षेत्रमा  आफ्नो पहिचान  बनाई सकेका चित्रकार प्राज्ञ एस सी सुमनको  “ सरस्वती   “  शिर्षकको इचिंग माध्यममा बनाइएको चित्र सानो आकारको भए पनि प्रदर्शनीको एउटा मुख्य  आकर्षण  रहेको  हो। ब्राउन रंगको प्रधानता रहेको  यो चित्रले मुख्य  विषयवस्तु  सरस्वतीलाई अग्रभागमा ज्यादै तल प्रस्तुत गरी अन्य फूलबुट्टा आदि चित्रण गरिएको छ । जसले गर्दा दर्शकको  दृष्टि  माथि वायांबाट हुँदै अन्त्यमा सरस्वतीको तेज हुँदै विषय वस्तुमा प्रवेश गर्दछ ।यसरी दर्शकलाई  चित्रमा धेरैवेर आफुतिर तान्न सक्नुलाई पनि चित्रको विशेषता मान्न सकिन्छ।   ब्राउन रंगको पृष्ठभूमिमा रातो रंगका कमलका फूलहरु बेलबुट्टाहरु  शुभका संकेत हुन भने चित्रको सम्पूर्ण पृष्ठभूमिमा फैलिएका पहेंला बुट्टाले ज्ञानको उज्यालो फैलाएको भन्ने संकेत बुझाउँछ। यस चित्रमा मिथिला लोककलालाई आधुनिकतासँग सम्मिश्रण “fusion ’’ गरिएको देखिन्छ। लोककलामा राम्रो प्रस्तुति दिदै आएकी माधवी कर्णको मिथिला लोक कला  यस प्रदशनीमा पनि राम्रो प्रस्तुति देखिन्छ । धरानका बीगेन राई, झापाका दीपक बराईली, धनकुटाका डिल्ली कृष्ण आले, विराटनगरका तृप्ति सुधांसु र कुन्दन प्रकाश श्रीवास्तव, काकरभिट्टाका रीना राई,र मोरंगका शिव छाङछा राईका चित्रहरूमा जनजातिका पहिरन र भेषभूषा सहित सांस्कृतिक पक्ष उजागर हुनेगरी चित्रण गरिएको पाईन्छ । दीपक र बिगेनका पोर्ट्रेटहरुको चित्रणमा रातो,पहेंलो उज्यालो रंगको प्रयोग भएको छ। दुवैको चित्रमा सांस्कृतिक पहिरन र भेषभूषाको राम्रो प्रस्तुतिका साथै शिल्पगत कुशलता देख्न पाईन्छ।  डिल्लीको सांस्कृतिक भेषभुषा प्रदर्शन गर्ने पोर्ट्रेट चित्रमा रंगको चमक त्यति देखिंदैन र माधुर्यता पाईन्छ साथै रैखांकन र रंगको प्रयोग राम्रो पार्ईन्छ । पोर्ट्रेटको दायांँ र वायाँ भागमा धेरै स्थान खालि रहनाले संरचना ( composition ) को  पक्षमा भने केही  असजिलो देखिनु स्वाभाविक हो। शिव र तृप्तिका चित्रहरुमा सांस्कृतिक पक्ष राम्ररी उजागर भएका छन्। कुन्दनको वौध्द संस्कृति झल्काउने प्राचिन सम्पदा ( heritage ) शिर्षकको स्तूप चित्र रंग, रेखांकन र संरचनागत पक्षमा ज्यादै सवल देखिन्छ । प्रदर्शनिमा बिक्री हुने चित्रमा यो पनि पर्दछ। धीरज राईको गोल्डेन फिश पनि सजिव देखिन्छ  । घोडालाई विषयवस्तु बनाएर चित्रण गर्ने कलाकारहरुले घोडालाई शक्ति र गतिको रुपमा  चित्रण  गर्ने गरेको पाईन्छ । उदयपुरका चित्रकार प्राज्ञ सन्जय बान्तवाको धारणा  पनि त्यस्तै छ। उनको एक्रेलिक रंग व्दारा केनभासमा बनाईएको “ पावर“ शिर्षकको चित्रमा चौडा खुला मुख गरेर तीव्र गतिमा अगाडि बढदै गरेको घोडाको चित्रण गरिएको छ । पहेंलो र रातो रंगको प्रयोगले चित्रमा उष्णता वा शक्तिको प्रभाव देखाईएको छ । इटहरीकी यशोदा लम्सालले पनि “ आवेग  “शिर्षक" दिएर तेलरंगमा निर्मित घोडाको चित्र राखेकी छन् । यो चित्रले पनि उत्साह दर्शाउँछ । सञ्जयको चित्रले अमूर्ततालाई अंगाल्न खोजेको छ भने यशोदाको चित्रमा यथार्थवादी शैली अनुशरण गरिएको पाईन्छ । अर्को कुरा यसमा सञ्जयको जस्तो उष्ण  रंगको कन्ट्रास्ट जस्तो नदेखाएर रंगको नरमपना (softness )  तर्फ उन्मुख देखिन्छ । विराटनगरका उध्दव गुरुङको चित्रमा घोडाहरुको वेग देखाइएको छ, जसको शिर्षक नै “दौड“ राखिएको छ । घोडाहरुको रंगमा वैकल्पिक रुपले ब्राउन र सेतो प्रयोग गरेर कन्ट्रास्ट देखाउन खोजिएको छ । झापाका केशर धिमाल र सविन सुनुवारले बालबालिकाको कारुणिक अवस्थाको चित्रण गरेका छन्  । केशरले तेलरंगमा बनाएको “असहाय कोपिला” शिर्षकमा चित्रित बालिकाको दयनीय अवस्थाले दर्शकमा करुणाको भाव जागृत गर्न  सफल देखिन्छ ।यो चित्रमा कलाकारको शिल्पगत कुशलता देख्न पाईन्छ। त्यस्तै सविन सुनुवारको चित्रमा भारी बोकेकी सानी बालिकाको अगाडि ब्राउन रंगको पृष्ठभूमिमा सेतो परेवा उडदै गरेको चित्रले पनि स्वतन्त्र  भएर हांस्ने खेल्ने उमेरमा पनि भरिया हुन बाध्य भएको अवस्था  दर्शाउने बालिकाको उदासीन अनुहारले पनि दर्शकलाई द्रवीभूत गर्दछ। दुवै चित्रमा रंग र रेखांकनमा सवलता पाईन्छ।  धरानका सुधिर सुनारको पानिरंगको पोर्ट्रेट चित्रले बाल निर्दोषिता भावको साथै सांस्कृतिक आभूषणको सफल प्रस्तुति गरेको छ भने प्राविधिक पक्षतर्फ विचार गर्दा पानीरंगमा हुनुपर्ने पारदर्शिता र ताजापन ( transparency and freshness ) को विशेषता चित्रमा पाईन्छ।  कांकरभित्ताका सितेन शेर्पाले हल्का निलो मोनोक्रम रंगमा बुध्दको आवक्ष (bust )चित्रको अगाडि उडिरहेका सारस  देखाएर दया (compassion) शिर्षक  दिएका छन्  । बुध्दको बाल्यावस्थाको घटना र उनको उपदेशसंग गांसिएको भाव प्रदर्शित गर्ने यो चित्रको रेखांकन र रंगको गाढा तथा फिकापन (tonal values ) को निर्वाह राम्रो भएको छ। झापा कै पर्वत राजवंशीको ध्यानमग्न चित्रले बुध्दको आध्यात्मिकता दर्शाउंछ । धरानका हरिलाल उदासका    शान्ति शिर्षकको चित्रमा बुध्दको अनहारको आंशिक प्रस्तुति र उडदै गरेका परेवाहरुले शान्तिको सन्देश प्रेषित गर्दछन्। निष्तेज गरिएका हल्का निलो रंगले शिर्षकसंग तादात्मता राख्दछ।  विराटनगरका सौरभ कोईरालाको केनभासमा तेलरंगले बनाएको तुलसीमोठ शिर्षकको चित्र यथार्थताको ज्यादै नजिक रहेको पाइन्छ। आंगन र त्यसको छेउछाउको परिवेशमा भएका विषयवस्तु चित्रित यो चित्र पनि “super realism ’’ को रुपमा देखा पर्दछ। काकरभिट्टाका बिनोद राजवंशी र विराटनगरका वीरेन्द्रकुमार राजवंशीका  क्रमशः “लाईट सर्कल” र  “मुखौटा“ शिर्षक चित्रहरुले लोककलात्मक ग्रामीण अनुहार प्रस्तुत गर्दछन्।बिनोद राजवंशीको चित्रमा रंग संयोजन र संरचना (composition) पक्षलाई सवलरुपमा प्रस्तुत गर्न सक्षम रहेको पाईन्छ । वीरेन्द्रको मुखौटा शिर्षकको गाढा खैरो रंगको पृष्ठभूमि भएको लोक कलात्मक चित्रले आन्तरिक बेदना झल्किने गरी गंम्भिर भाव प्रस्तुत गर्दछ। गाढा रंगको पृष्ठभूमिमा हल्का रंगको मुखुण्डोको केही भाग अन्धकारमा बिलिन भएको चित्रणले चित्रको भाव प्रस्तुतिलाई बढी सशक्त बनाएकोछ। बिराटनगरका भरत डंगोलको चित्र पनि अर्थपूर्ण  छ । उनले पृथ्वी दुई हातले बचाउन खोजेर बिचमा रहेकी नारीको संरक्षण गरेर श्रृजनालाई निरन्तरता दिनु आवश्यक भएको सन्देश दिएको छ । प्रदर्शनीमा विशाल दाहालको पोर्ट्रेट, दीप नारायण चौधरीको राधाकृष्ण,रबिन चौधरीको न्युड, अम्बर परियारको सी वल्र्ड, सुशील राईको हात्ती चित्रले पनि दर्शकहरुको ध्यान आकर्षित गर्न सफल रहेका हुन्।





 

About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.